प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य तीव्र – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य तीव्र

काठमाडौँ, जेठ १२  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएपछि हुने लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्।

यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ। भारतका लागि नेपालका राजदूत डा। शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ। भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ तर अर्को मिति त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबिच आपसी समन्वय गर्ने काम भइरहेको छ।

आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुभएको छ। उहाँले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्बद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका गतसाता नै सङ्कलन गर्नुभएको छ।

प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार तयारीका व्रmममा दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको छ। भ्रमणको मिति तोक्ने सवालमा दुवै देशले एकै दिन एकै समयमा सार्वजनिक गर्ने नीति अनुसार शनिबार घोषणा गर्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणको कार्यसूचीमा दुई देशीय सम्बन्धमा महत्व राख्ने द्विपक्षीय तथा बहुपक्षीय साझेदारी र बहुआयामिक विषय रहेका छन् । कार्यसूचीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयमा बिहीबार सार्वजनिक बिदाको दिन पनि गहन गृहकार्यमा कर्मचारी खटिएको मन्त्रालयले जनाएको छ । सबै सरोकारवाला मन्त्रालयले दिएको कार्यसूचीलाई प्राथमिकीकरण गरेर कार्यसूची व्यवस्थित गरेपछि मन्त्रालयले औपचारिक जानकारी दिने सुवेदीले बताउनुभयो।

भारतका विदेशमन्त्रीसँग राजदूत शर्माको भेट

भ्रमणकै विषयलाई लिएर भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयबिच पनि दौडधुप बढेको छ। भ्रमणको व्यवस्थापनमा सघाउँदै दिल्लीस्थित दूतावासले मन्त्रालयसँग बृहत् छलफल र भेटवार्ता उच्च पारेको छ।

सोही व्रmममा राजदूत डा। शङ्करप्रसाद शर्माले भारतका विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्करसँग बिहीबार गरेको भेटवार्तामा पुरानो बहुआयामिक सम्बन्धलाई थप फराकिलो, बलियो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको राजदूत शर्माले जानकारी दिनुभएको छ।

भारतका विदेशमन्त्री जयशङ्करले पनि राजदूत शर्मासँग गहिरो र बहुआयामिक साझेदारी रहेको मित्रवत् सम्बन्धका विषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको छ। आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता विदेशमन्त्री जयशङ्करले व्यक्त गर्नुभएको छ।