दाङमा जीपको ठक्करबाट स्कुल जान लागेकी शिक्षिकाको ज्यान गयो – Nagarikabhiyan : National News

दाङमा जीपको ठक्करबाट स्कुल जान लागेकी शिक्षिकाको ज्यान गयो

दाङ –दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको ज्यान गएको छ ।

आज बिहान पश्चिम हापुरेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ९२३ नं को जीपले रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको ज्यान गएको हो । उहाँलाई विद्यालय जाने क्रममा जीपले ठक्कर दिएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो । सीता शान्तिनगरमा रहेको धनौरी माविमा पढाउनुहुन्थ्यो ।