नक्कली शरणार्थी प्रकरण आफैँ बाहिर आएको हो सरकारले दोषी उम्काएर निर्दोषलाई फसाउँदैछ ओली – Nagarikabhiyan : National News

नक्कली शरणार्थी प्रकरण आफैँ बाहिर आएको हो सरकारले दोषी उम्काएर निर्दोषलाई फसाउँदैछ ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीले अहिले सरकारले कुनै दल, व्यक्तिलाई लक्षित गर्न खोज्दा खास दोषी उम्कने सम्भावना रहेको जिकिर गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुन दलको कुन पद रिक्त बनाउने र कोविरुद्ध समाजमा नकारात्मक हल्ला फैलाउने भन्नेमा केन्द्रित रहेर सरकारले छानबिनको नाटक गरिरहेको बताउनुभयो ।

आफू प्रधानमन्त्री बन्दा नक्कली भुटानी शरणार्थीबारे एउटा समिति बनाएको तर त्यति बेला आफूलाई सरकारबाट बाहिर निकाल्ने, पार्टीको सदस्यबाट निकाल्नेजस्ता गतिविधि भएकाले आफूले त्यो मुद्दा हेर्न नपाएको उहाँको दाबी छ । अहिले सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेको नाटकमात्रै गरिरहेको दाबी गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण आफैँ बाहिर आएको जिकिर गर्नुभयो ।

‘यो प्रकरण बाहिर ल्याएको होइन आफैँ बाहिर आएको हो, लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न ।’ ओलीले भन्नुभयो ।

उहाँले भ्रष्टाचारका सबै कान्डहरूको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पूरै सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।