राजविराज अस्पतालका कर्मचारीसहित कोरोनाबाट दुईको मृत्यु – Nagarikabhiyan : National News

राजविराज अस्पतालका कर्मचारीसहित कोरोनाबाट दुईको मृत्यु

राजविराज ।  राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालको फार्मेसीमा कार्यरत एक जना कर्मचारी युवकको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार अस्पतालको फार्मेसी पदमा कार्यरत २८ वर्षीय युवकको कोराना संक्रमणबाट नै मृत्यु भएको पुष्टि गर्दै जानकारी दिनुभयो । मृतक युवक राजविराज वडा नम्बर २ का बासिन्दा हुन् ।

उनमा गत कात्तिक १५ गते कोरोना संक्रमण पोजेटिभ आएपछि पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएपछि उनी अस्पताल अन्तर्गत साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए ।

उनको आइसोलेसन केन्द्रमै रहेको बेला आज मृत्यु भएको गजेन्द्र नारायण सिँह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताउनुभयो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार युवकमा अन्य कुनै रोग थिएन । कोरोना पोजेटिभ देखिएपनि त्यस्तो कुनै लक्षण पनि देखा नपरेको उहाँको भनाइ छ ।

लक्षण देखा नपरे पनि उनी आइसोलेसनमा भर्ना भएका थिए तर ‘बिहान अन्य दिन झैं खाजा र चिया खाएर बसिरहेको बखत अचानक उनको मृत्यु भएको सुपरिटेन्डेन्ट डा. झाले बताउनुभयो ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै सप्तरीकोे अग्निसाइर कृष्णासावरण गाउँपालिका – ५ का ६२ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश यादवका अनुसार उनको मृत्यु गत कात्तिक १३ गते नै भएपनि जानकारी भने आज आएको उहाँले जानकारी दिनुभयो ।

ज्वरो आएपछि उपचारका लागि गत कात्तिक ८ गते नोबेल मेडिकल कलेज पुगेका उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा १२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा हालसम्म १६ सय ३१ जना संक्रमित भएका छन् । जसमध्ये हाल सप्तरीमा २०४ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १४ सय संक्रमणमुक्त भएर घर फर्किएको जनाइएको छ ।