अन्त डोजर हान्ने उपमहानगर हसनपुरको भगवती मार्गमा किन डरायो – Nagarikabhiyan : National News

अन्त डोजर हान्ने उपमहानगर हसनपुरको भगवती मार्गमा किन डरायो

धनगढी उपमहानगरले अतिक्रमित खोलानाला खाली गर्न डोजर लगाउने गरेको छ। यस्तै सबै वडामा सडक निर्माण गर्दा सडक क्षेत्राधिकार खाली गर्न उपमहानगरले सम्झौता नगर्ने बताउँदै आएको छ। तर, वडा नम्बर ५ हसनपुरको भगवती मार्गमा भने सडक निर्माण गर्दा अधुरो छोडिएको छ।

भगवती मार्गको पूर्वीछेउको करिब १५ मिटर सडक निर्माण गर्न छोडिएको छ। सडक क्षेत्रमा लगाइएको पर्खाल खाली गर्न नसक्दा सडक अधुरो छोडिएको एकजना स्थानीयले बताए। उनले उपमहानगरले सडक र नाली अधुरो छोडेका कारण बर्सातमा पानी घरभित्र पस्ने जोखिम बढेको बताएका छन्। सडक र नाली निर्माण गर्न घरधनीले जग्गा नछाडेकाले सडक र नाली निर्माण गर्न नसकिएको वडा अध्यक्ष गजेन्द्र शाहीले बताए।

उनले घरधनीलाई पटकपटक अनुरोध गर्दा पनि नमानेकाले काम गर्न नसकेको बताए। टोलबासीले भने आफूहरूले सहजै जग्गा छोडेको भए पनि एक जना घरधनीका कारण टोलका अन्य घरमा पानी पस्ने जोखिम बढेको बताएका छन्। जताततै उपमहानगर सडक क्षेत्राधिकार खाली गरिरहेको भए पनि भगवती मार्गमा सडक क्षेत्राधिकार खाली गर्न किन डरायोरु भन्ने प्रश्न टोलवासीले गरेका छन्।