नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा देउवाले सघाइरहनुभएको छ प्रवक्ता महत – Nagarikabhiyan : National News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा देउवाले सघाइरहनुभएको छ प्रवक्ता महत

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्षरूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।

मङ्गलवार सञ्चारकर्मीसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली कांग्रेसले सहयोग गर्ने बताउनुभएको हो । उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढाउन पार्टीको पूरा सहयोग हुन्छ । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्‍यो । निर्दोष पनि दोषी हुने अवस्था आउनुभएन र दोषी निर्दोष हुने अवस्था पनि आउनुभएन ।’

प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको ुकेसु फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताउनुभयो ।

प्रवक्ता महतले पार्टीकी केन्द्रीय सदस्य तथा सांसद डा। आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । राणा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ुट्रायलु गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।

महतले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि पार्टी सभापति शेरबहादुर देउवाले सघाइरहनुभएको बताउनुभयो । घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।