हर्क साम्पाङले आत्मालोचना गरेपछि मिल्यो धरानको विवाद
३१ बैशाख २०८०, आईतवार २०:२५
३१ वैशाख, काठमाडौं सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरु बीचको विवाद मिलेको छ । धरानका मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो ।
‘मेयरसा’बले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी माग्नु भएको छ,’ बैठकमा सहभागी एक वडाध्यक्षले भने, ‘मेयर ज्यू र १० नम्बर वडाध्यक्ष विवेक राईले पनि आत्मालोचना गरेपछि वातावरण सौहार्द बनेको हो ।’
उपमेयर अइन्द्रविक्रम बेघाले आइतबारको बैठकसँगै लामो समयदेखिको विवाद मिलेको प्रतिक्रिया दिए । परिपक्व र जिम्मेवारी सहित अगाडि बढ्ने सहमति भएको उनले बताए । विगतका तिता मिठा कुराबाट सिकेर नमिठा कुराहरुलाई त्यागेर अगाडि बढ्ने विषयमा कार्यपालिका सदस्यहरुबीच सहमति भएको उनले बताए । विवादका कारण धरानका सबै जनप्रतिनिधिले गाली खाएको स्मरण गर्दै उनले भने, ‘धरानको जनदबाब र सबैको इच्छाले विवाद मिल्न सफल भएको छ ।’
‘आज सबैले जितेको हो, धरान श्रमको शहर, एकताको शहरको रुपमा अगाडि बढ्छ । सबै मिलेर धरानलाई देशकै एक नम्बर सिटी बनाउनेगरी काम गर्ने छौं’ बैठकमा बेघाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया