मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी – Nagarikabhiyan : National News

मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी

विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्।

मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको छ। नेपालमा मकैको प्रयोग मुख्यतया कुखुरा लगायत पशुपन्छीका दाना उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको थियो।

शारडा समूहको सञ्चालनमा सुनसरीमा रहेको मदिरा उद्योग प्रिमियर अर्गानिक्सले चामलको सट्टा मकैबाट मदिराको कच्चा पदार्थ उत्पादन गर्न थालेको छ। प्रिमियरले रेक्टिफाइड स्पिरिट (आरएस) र एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) गरी मदिराका २ प्रकारका कच्चा पदार्थ उत्पादन गरेर अन्य मदिरा उद्योगलाई बिक्री गर्छ।