विराटनगरको तुलसी सहकारी संस्थाका क्षेत्रिय प्रबन्धक सहित तीन जना पक्राउ
२९ फाल्गुन २०७९, सोमबार १६:४३

विराटनगर । तुलसी बहुमुखी सहकारी बहुउद्देश्यीय सहकारी संस्था क्षेत्रिय प्रबन्धक सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । ठूलो रकम ठगी गरेको आरोपमा संस्थाको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र संस्थाका क्षेत्रीय प्रबन्धकको रूपमा कार्यरत मन्दिप खवास पक्राउ परेका हुन् । अन्य पाँच जनाको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
सेयर सदस्यहरूको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अहिलेसम्म फरार छन् । उनी भारतमा रहेको आशंका गरिएको छ ।
पक्राउ परेका तीन र फरार रहेका शर्मासहितलाई प्रतिवादी बनाएर मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार सहकारीले चार जिल्लाबाट सर्वसाधारणको एक अर्ब ४९ करोड हाराहारी बचत संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । ठगीएकाहरूको उजुरी आउने क्रम बढ्दो छ । उजुरी दिन आउनेहरूको संख्या बढेपछि प्रहरीले पीडितलाई लाइन लगाएर उजुरी संकलन गरिरहेको छ ।
नेपालभर कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको सहकारीको मुख्य कार्यालय विराटनगर–२ मा छ । सहकारीले झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । प्रहरीका अनुसार सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् ।
सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि फागुन १ गतेबाट विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहामा भएको कार्यालय बन्द छन् । १५ प्रतिशतसम्म ब्याज पाउने आशमा सर्वसाधारणले प्रतिव्यक्ती एक करोडसम्म बचत गरेका छन् । उक्त सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा रकम संकलन गर्दै आइरहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया