विराटनगरमा नगर बस सञ्चालनका लागि दोस्रो पटक रुट परीक्षण गरियो – Nagarikabhiyan : National News

विराटनगरमा नगर बस सञ्चालनका लागि दोस्रो पटक रुट परीक्षण गरियो

विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सञ्चालनका लागि दोस्रो पटक पनि रुप परीक्षण गरेको छ । बिहीबार महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको हो ।

कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको मेयर कोइरालाले बताए । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउने, महिला र विद्यार्थीलाई सहुलियत दिने साथै अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कोइरालाले बताए ।

बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा अध्ययन हुनेछ । महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित सिटी बस सञ्चालन गर्न लागेको महानगरले जनाएको छ ।

महानगरले प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी गरेको छ । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । यसअघि फागुन १८ गते उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।