प्रदेश १ सरकारद्धारा २७ विद्यालयलाई उत्कृष्ट सम्मान – Nagarikabhiyan : National News

प्रदेश १ सरकारद्धारा २७ विद्यालयलाई उत्कृष्ट सम्मान

विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा।वि। र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो ।

विभिन्न सूचकका आधारमा उत्कृष्ट व्यवस्थापन भएका सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयलाई प्रोत्साहन सहित सम्मान गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालले जानकारी दिए । सामुदायिक विद्यालयहरूले गरेका असल अभ्यास अरू विद्यालयहरूमा पुर्‍याउन सकिएला भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रदेश १ मा प्रोत्साहन तथा सम्मान हुने माध्यमिक विद्यालयहरूमा भानुजन मावि ताप्लेजुङ, फिदिम मा।बि, पाँचथर, भानुभक्त मावि इलाम, धुलाबारी मावि झापा, पोखरीया मावि विराटनगर, जनता मावि सुनसरी, भानु मावि डाँडाबजार धनकुटा, वसन्त मावि वसन्तपुर तेह्रथुम छन् । त्यस्तै वीरेन्द्र मावि भोजपुर , मनकामना रत्न अम्बिका मा।बि। सङ्खुवासभा, केदार मावि सोलुखुम्बु, बरुणेश्वर मावि रामुपुर ओखलढुङ्गा, जनजागृति मावि खोटाङ, जनता मावि हडिया उदयपुर पुरस्कृत भएका छन् । यी विद्यालयहरूले १४ लाख ५० हजारका दरले सबै विद्यालयलाई नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कृत हुने आधारभूत विद्यालय तर्फ हिमालय आधारभूत विद्यालय ताप्लेजुङ, त्रिभुवन आबि पाँचथर, भवानी आबि इलाम, गरमकाली आबि झापा, रवि आबि मोरङ, जलदेवी आबि सुनसरी, जनकल्याण आबि धनकुटा, सरस्वती आबि तेह्रथुम, जनसेवा आबि भोजपुर, लक्ष्मी आबि सङ्खुवासभा, वासुकि आबि सोलुखुम्बु, जाल्पा आबि खोटाङ र उदयपुरको जनप्रेमी आधारभूत विद्यालयलाई प्रोत्साहन सहित सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले जानकारी दिए । आधारभूत विद्यालयहरूले प्रोत्साहन रकम ९ लाख ७५ हजार नगद प्राप्त गरेका छन् ।

सोही अवसरमा ३ वटा सामुदायिक विद्यालयले विद्यालयको अवस्था सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । पोखरिया माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र गरमकाली आधारभूत विद्यालय, हल्दिवारीले विद्यालय राम्रो हुनुको आधार प्रस्तुत गरेका थिए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अहिलेको शिक्षा सिपमा आधारित नभएको बताए । उनले निजी क्षेत्रबाट खुलेका शैक्षिक संस्थाले असल नागरिक उत्पादन हुन नसक्ने बताए । ‘निजी शैक्षिक संस्थाहरू यन्त्र मानव जस्तो उत्पादन गरेका छन्, उनले भने, यन्त्र मानव जस्तो व्यक्तिले समाजको लागि केही गर्न सक्दैन ।’ शिक्षालाई बहु आयामको रूपमालग्नु पर्नेमा उनले जमेड दिए । सामुदायिक विद्यालयले नजान्नेलाई जान्ने बनाउने काम गरेको छ, उनले भने, निजीले जान्ने विद्यार्थीलाई मात्र पढाउने काम भएको छ ।’ उनले सामुदायिक विद्यालय कमजोर भए भनेर कुनैपनि हालतमा मन साँगुरो बनाउनु पर्ने अवस्था नरहेको बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले अहिलेको शिक्षालाई सुधार गरेर लग्नु पर्ने बताए । अहिलेकै अवस्था ठिक छ भनेर बस्न नहुनेमा जोड दिए । राम्रो गर्ने विद्यालयलाई केही गरौँ न भन्ने लागेर बजेटमा व्यवस्था गरेर विद्यालयलाई प्रोत्साहन सहित सम्मान गरिएको राईले बताए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, प्रदेश १का सबै मन्त्रालयका सचिव, स्थानीय तहका शिक्षा शाखा प्रमुख उपसचिव तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूको सहभागिता रहेको थियो ।