निर्वाचन आयोगविरुद्ध मेयर बालेनले दिए सर्वोच्चमा रिट, जरिवाना तिराउने निर्णय बदर गर्न माग – Nagarikabhiyan : National News

निर्वाचन आयोगविरुद्ध मेयर बालेनले दिए सर्वोच्चमा रिट, जरिवाना तिराउने निर्णय बदर गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै तिराउन लगाएको जरिवानाविरुद्ध असन्तुष्टि जनाउँदै मेयर बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

मेयर बालेनले कानुनले तोकेको अवधिभित्रै (असार १२ गते) आयोगमा निर्वाचन खर्च पेश गरेको बताएका छन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने नियमअनुसार ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट आफूले निर्वाचन खर्च आयोगसमक्ष पेश गरेको पनि उनले उल्लेख गरेका छन् ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको ३० दिन बितिसक्दा पनि निर्वाचन खर्च नबुझाएको भन्दै महानगर प्रमुख बालेनसहितका मेयरलाई आयोगले साढे ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने निर्णय गरेको थियो । त्यस्तै, आयोगले महानगर, उपमहानगरलगायत स्थानीय तहमा निर्वाचित भएर निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई फरक, फरक जरिवाना तिर्न लगाउने निर्णय गरेको थियो ।

मेयर बालेनले स्थानीय तहबाट निर्वाचित भएर आएका देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिवाना तिराउने र ६ महिनाभित्र जरिवाना नतिरे ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने, निर्वाचित भए पदमुक्त हुने आयोगको निर्णय बदर गर्न पनि माग गरेका छन् ।