चार लाख रुपैयाँमा बेचिएकी ताराको ओमनबाट उद्धार !
३१ असार २०७९, शुक्रबार १४:२९
काठमाडौँ । ओमानको मस्कटमा अरेवियन परिवारबाट बन्धक बनाइएकी कपिलबस्तुकी तारा खड्काको उद्दार भएको छ । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगको सम्पर्कमा आएकी तारा बिहीबार नेपाल आइपुगेकी छिन् ।
झण्डै तीन महिना ताराका लागि ओमान नर्क जस्तै रह्यो । अरेवियन नागरिकको घरमा दिन रात काममा खटाई त्यसमाथि उनीहरुको कुटपिट र यातानाको शिकार हुनुपर्यो ताराले ।
ताराले कार्यक्रम सिधा कुरा जनतासँगको सम्पर्क आएर उद्दारको गुहार मागेकी थिइन् । त्यसबेला उनको चित्कार सुन्दा यस्तो लाग्थ्यो कि एक नेपाली चेली विदेशमा ठूलै समस्यामा परेकी छिन् । उनको चित्कार सुनेपछि हामीले उनलाई उद्दार गर्ने बचन दिएका थियौँ ।
त्यसपछि कार्यक्रमको ८६३ औँ संस्करणमा ताराका विषयमा रिर्पोटिङ पनि गरेका थियौँ । त्यसबेला नै ताराले आफुलाई यो अवस्थामा पुर्याउने दलालको बारेमा जानकारी दिएकी थिइन् ।
४ लाख रुपैयाँमा बेचिएकी थिइन् तारा
तारालाई दुबइमा रोजगारी दिलाउने भन्दै दीपक तामाङ नाम गरेका दलालले ओमान पुर्याएका रहेछन् । तारालाई दुबइ पुर्याउनु अघि दलालले २० दिन भारतको दिल्लीमा राख्यो । २० दिनको दिल्ली राखेपछि उनलाई दुबइ पुर्यायो । त्यहाँबाट दलालको सञ्जालले मार्च २८ मा ओमान उडाएको थियो । तर, दुबइ पुग्ने बेला नै ताराले आफु बेचिएको भन्ने थाहाँ पाइसकेकी थिइन् । दुबइमा उनलाई ४ लाखमा किनेर ल्याएको भनिएको थियो । त्यसपछि त तारा छागांबाट खसेझै भईन् ।
ताराको बारेमा सबै जानकारी पाएपछि हामीले ओमानस्थित नेपाली दूताबास, गैरआवासिय नेपाली संघलाई खबर ग¥यौं । त्यसपछि गैरआवासीय नेपाली संघको सहयोगमा तारा सुरक्षित रुपमा नेपाली दूतावासको कार्यलय पुगिन् ।
७ वर्षको छोरा सम्झेर दिनरात रोएरै कट्थ्यो
ताराले ओमानमा पाउँनुसम्मको दुखः पाइन् । उनी पैसा कमाउँने लोभमा ७ वर्षको छोरालाई घरमै छाडेर विदेशिएकी थिइन् । तर, मुख देख्नु त परको कुरा आफ्नो छोराको राम्रोसँग आवाज समेत सुन्न पाइनन् । कारण मालिकले उनीबाट मोबाइल नै खोसेको थियो । छोरा सम्झेर उनी दिनरात रुन्थिन् मात्रै ।
झण्डै तिन महिना ओमन बसाइपछि अन्ततः तारा बिहीबार नेपाल आइपुगिन् । ओमान बसाई उनको जीवनको अध्यारो पाटो जस्तै बन्यो । अब भने जीवनको नयाँ अध्याय सुरु गर्ने अठोट तारामा छ । आफ्नो उद्दारका लागि समन्वय गर्ने ओमानस्थित नेपाली दूतावास, गैर आवासिय नेपाली संघ र न्यूज २४ टेलिभिजनलाई धन्यबाद दिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया