कञ्चनरुपमा पाँच बेडको कोभिड अस्थाइ अस्पताल – Nagarikabhiyan : National News

कञ्चनरुपमा पाँच बेडको कोभिड अस्थाइ अस्पताल

राजविराज । कोरोनाको महामारी जिल्लामा बढदै गएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकामा पाँच बेडको कोभिड अस्थाइ अस्पतालको आज एक समहारोका बिच उद्घाटन गरिएको छ ।

जिल्लाको कञ्चनरुप ८ कंचनपुर स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको कम्पाउण्ड(हाता) भित्र स्थापना गरिएको कोभिड १९ अस्पतालको नगरप्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर उद्घाटन गर्नुभयो ।

उद्घाटनको क्रममा नगरप्रमुख मिश्रले सबै क्षेत्र राम्रो भएर मानिसको स्वास्थ्य राम्रो भएन भने त्यसले कुनै प्रगति गर्न नसक्ने बतायुभएको छ ।

उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै केहि दिन भित्र प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा र सर्पदंशकको उपचार सेवा समेत सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कञ्चनरुप नगरपालिकाले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्नका लागि सुरु देखि नै सचेत भएर काम गरेको र आज कोभिड १९ को अस्पताल उद्घाटन हुनु राम्रो सराहनीय कार्यको सुरुवात भएको बताउनुभयो ।

मनिसहरुको हेलचेक्रयाइका कारणले गर्दा कोभिडको संक्रमणमा बृद्धि भएको बताउदै यसबाट सचेत रहन जरुरी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले स्वास्थ्यकर्मीहरुले आफ्नो मनोबल नघटाइ गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

कोभिड संक्रमणलाई रोकथाम गर्न क्वारेन्टिन ,आइसोलेसन हँदै कोभिड अस्पतालको उद्घाटन सफल भएको बताउँदै कुनै बिरामीलाई औषधी उपचार गर्न बाहिर जानु नपर्ने किसिमले नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, नेकपाका बच्चुलाल चौधरी ,जसपाका सुदम्बर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, कोभिड १९ सिआइसिटी टिम संयोजक विकास कुमार गुप्ता , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।