तस्कर र प्रहरी बिच झडप ,दुई प्रहरी घाइते – Nagarikabhiyan : National News

तस्कर र प्रहरी बिच झडप ,दुई प्रहरी घाइते

राजविराज । सप्तरीको राजविराज नगरपालिका १३ मुसर्नीयाँस्थित नहरमा गएराती तस्करीको समान बरामद गर्न खोज्दा झडप भएको छ ।

भारतबाट नेपाल तर्फ तस्करी गरि समान ल्याउने क्रममा तस्कर गर्ने ब्यपारीबाट प्रहरीले समान बरामद गर्ने क्रममा झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार झडपमा हवल्दारसहित २ प्रहरी घाईते भएका छन् । सो झडपका क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर समेत गरेको थियो ।

घटनामा प्रहरी हवल्दार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साहको टाउको फुटेको प्रहरीले जनाएको छ । उनीहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।

तस्कर पक्राउ गर्ने र जोगाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयवासी विच दोहोरो झडप समेत भएको थियो ।

तस्करहरुलाई जोगाउन स्थानीय ब्यापारी र सर्वसाधारणले घरेलु हतियारसहित प्रहरीलाई आक्रमण गर्न खोज्दा बिवाद झन उग्ररुप लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी को. वरसाईनबाट प्रहरी नायव निरिक्षक (असई)को नेतृत्वमा खटिएको प्रहरी टोलीले रातीराती घेरा हालेपछि तस्करहरुले स्थानीयसँग गुहार मागेका थिए ।

स्थानीयवासीले समेत आक्रमण गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको थियो । यसैबिच घटनाको बास्तबिक बारे थप बिबरण आउन बाँकी रहेको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।