महिला हत्या आरोपमा तिन जना पक्राउ
२६ आश्विन २०७७, सोमबार २०:४६
राजविराज । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीमा एक जना महिलाको हत्या आरोपमा आज प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिरहुत गाउँपालिका २ बस्ने २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका(११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
गत असोज १० गते तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा स्थानिय शिक्षक शिवनारायण यादवकी ५० बर्षिय श्रीमती दाइमन देवी यादवको हत्या भएको थियो । सो महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
तीन जनामध्ये साहले दाइमन देवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो
‘अन्य दुई जना ओमप्रकाश र अजयले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ,’ सिंहले भन्नुभयो ‘उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । कानुन अनुसारको थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार मृतक महिला दाइमन देवी यादवकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।
यस्तै, अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको २ बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।
प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय भुक्तान गरी २ वर्षअघि छुटेका थिए ।
साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको समेत देखिएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया