जिल्ला प्रशासन कार्यालय नै कोरोना जोखिममा – Nagarikabhiyan : National News

जिल्ला प्रशासन कार्यालय नै कोरोना जोखिममा

इनरुवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीमा विहीबार बिहान प्रवेशद्धारमा सयौंको  सेवाग्राहीको भीड बढेको थियो । एक पछि अर्को सेवाग्राही थप्दै गएकाले भिड ह्वातै बढ्यो ।

जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार कार्यालय समय १० बजे खुल्ने बितिकै नागरिकता र राहदानी बनाउने फाँटको झ्याल तर्फ एकाएक दौडिएर पुग्ने प्रयास सेवाग्राहीहरुले गरेकाले कार्यालय अस्तव्यस्थ भएर ठूलो भीड बढ्यो । भीडसँगै केही ब्यक्ति झ्याल माथि नै उफ्रेको दृश्य समेत देखियो ।

यो दृश्य सुरुमा झट्ट हेर्दा कुनै चट्केको खेल वा जादु हेर्नेहरुको भीड हो की? कुनै अन्र्तराष्ट्रिय खेल मैदानमा दर्शकको दृश्य हो ठम्याउन गाह्रो भयो । तर यो दृश्य न चट्केको खेल थियो न त कुनै खेल मैदानको । यो थियो केवल जिल्लाको प्रमुख प्रशासनि अड्डा जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रवेशद्धार । जिल्ला प्रशासन कार्यालय जस्तो ठाउँमा नै एकै ठाउँमा जम्मा भएर भीडभाड गरेको बेला प्रशासन कार्यालयले कुनै वास्ता नगरेको पाइएएको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो ।

प्रवेशद्वार खोल्ने बितिकै सेवाग्राहीहरुले कुदेर नागरिकता फाँटको झ्याँलमा आ आफनो नागरिकता फारम धमाधम दिन थाल्यो । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न ठाउँहरुमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको बेला सुनसरी प्रशासनमा सामाजिक दुरीको पालना कसैले पनि नगरेको पाइएको भट्टराईको भनाई छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रशासन कार्यालयले ४० जनालाई टोकन प्रणालीबाट भित्र प्रवेश गर्न दिएपनि नागरिकताको फाँटमा एक्कासी भिड भएपनि केही मनिेटमा त्यसको व्यवस्थापन भएको प्रतिकृया दिनुभयो । जिल्ला प्रशासन कार्यालयले एक दिनमा ४० जनालाई मात्र प्रवेश गर्न दिन अनुमति दिएपनि कोरोनाको जोखिमलाई कसैले ख्याल गरेको छैन् । जनपथ प्रहरी र सशस्त्र प्रहरीको डियुटी रहेपनि सामाजिक दुरी कायम गराई सेवा लिन आग्रह गर्नुको साट्टो उनीहरुले सेवाग्राहीको रमिता हेरेर बस्ने गरेको पाइएको छ ।