आयोगले कांग्रेसको मात्रै कुरा सुनेर मतपत्रको रङ परिवर्तन गर्‍यो, यो मुद्दा हाल्नुपर्ने विषय हो : अध्यक्ष ओली – Nagarikabhiyan : National News

आयोगले कांग्रेसको मात्रै कुरा सुनेर मतपत्रको रङ परिवर्तन गर्‍यो, यो मुद्दा हाल्नुपर्ने विषय हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धन बाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए ।

अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए । अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहिताको कार्यान्वयन आपैmले पालना गर्न सुझाव दिए । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको बताए ।

उनले ठूला नेताहरुले आचारसंहिता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे । अध्यक्ष ओलीले भनेका छन्, ‘हामी राजनीतिक दलहरुसँग समेत परामर्श गरेर निर्वाचन आयोगले आचारसंहिता बनाउनु पर्ने हो । आचारसंहिता सधैँ हामी समेत सहभागी भएर छलफल गरेर हामी निस्कर्षमा पुग्थ्यौँ । यसपल्ट निर्वाचन आयोगले हामीसँग कुनै परामर्श गरेन । आचारसंहिता आफैँले बनायो । जनताले मान्नुपर्ने कानून जनताबाट निर्मित हुन्छ, लोकतन्त्रमा । जनताका जनप्रतिनिधिबाट निर्मित हुन्छ । शासकले थोपर्दैनन् ।’

उनले थपे, ‘तर निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गठबन्धनबाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहिता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ । गर्ने तहमा त्यसको प्रक्रिया नै पु¥याइएन । नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन ।’

उनले फेरि भने, ‘रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन । आफ्नो पार्टीको बाहेक अरुको चिन्ह प्रयोग गर्न पाइँदैन भन्ने अनि देशभर त गठबन्धनले एउटाको अर्कोले गरिरहेका छन् त । यहाँ शेरबहादुरजीले मैले हो रेनुलाई उठाएको प्रचण्डले होइनसम्म भन्नुभयो, चितवनमा धम्क्याउँदा कति डराउनुभएछ भन्ने कुरा भोलिपल्ट थुरथुर हुँदै दिएको वक्तव्य त्यसले देखउँदैन ? निर्वाचन आयोगले जुन घोषणा गरेको छ, त्यो कार्यान्वयन गरोस् न । ठूला नेताहरुको आचारसंहीता तोड्दा निर्वाचन आयोग कालो पट्टी लाएर बस्ने, कार्यकर्तालाई धम्क्याउने । निर्वाचन आयोग यस्ता खालका कुराहरुमा मुसिनु राम्रो होइन ।’

त्यस्तै अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको बताए । उनले जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनुपर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न गरे ।
उनले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहिता विपरीत भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘विष बमन गर्ने काम गठबन्धनको हो । यो उसको एप्सुलिट ठेकेदारी हो । गठबन्धनका नेताहरु हुन् । जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी हुने वातावरण हुनुपर्छ । गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? उहाँहरुको क्रियाकलाप कस्तो छ, उहाँका कार्यकर्ताले हिजोमात्रै एमालेका रुकुम पश्चिमका घरमै बसिरहेका कार्यकर्तामाथि घरमै आक्रमण गरेर अंगभंग गर्ने, नराम्ररी हमला गर्ने, अपराधिक फौजदारी अभियोगका कामहरु गर्नुभयो । त्यही माओवादी जनतालाइ धम्क्याउँछ । यसरी त्रासको वातावरण देशमा सिर्जना गर्छ ।’

उनले थपे, ‘निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहिता विपरीत हो कि होइन ? जनतालाई धम्क्याउनु सोझै आचारसंहिता विपरीत् हो कि होइन ? धम्क्याउँदै प्रचण्डले यदि मेरी छोरीलाई जिताउँदैनौँ भने ठूलो दुर्घटना हुन्छ, उत्साहपूर्वक के भनेका छन् उनले, रुखवालाहरुले हसिया हतौडामा छाप लाउनै पर्छ, लाउन तयार हुनैपर्छ । हसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ । मेरी छोरीलाई खुरुखुरु भोट हालेर जिताउने हो भने म उत्साहित हुन्छु । छोरी जिताइदिए उत्साहित हुन्छु म, त्यसो भए यो गठबन्धन १०÷१५ वर्ष पनि टिकाउन सक्छु । त्यो मेरो प्रतिवद्धता छ । वाह राजनीति !’

उनले फेरि भने, ‘उनलाई उत्साहित बनाउनका लागि छोरीलाई भोट दिने रे । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहिता विपरीत कुरा हो । अराजनीतिक कुरा हो । गठबन्धन एक हप्तामा चाह्यौँ भने भत्काउँछौँ भनेको हो । बिरालो किन्न जानुपर्दैन । जसले ठूलो कचौरामा दूध भात दिन्छ उतै जान्छ । हाम्रो क्रयशक्ति काँग्रेसको भन्दा बढी छ ।’

अध्यक्ष ओलीले गठबन्धनलाई वैशाख ३० ठूलो खड्गो रहेको बताए । उनले ज्योतिषीले वैशाख ३० गठबन्धनका लागि नराम्रो खड्गो रहेको भनिरहेकोले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने बताए ।

अध्यक्ष ओलीले फेरि भने, ‘मैले मेरो कुरा भनेको होइन, ज्योतिषीको कुरा भनेको हो । एउटा ग्रहदशा हेर्ने ज्योतिषी हुन्छन्, एउटा राजनीति हेर्ने ज्योतिषी हुन्छन्, अहिले दुवै प्रकारका ज्योतिषीहरु गठबन्धनका अघि महाशंकट उत्पन्न हुँदैछ भन्छन् । त्यो ज्योतिषीहरुको कुरा हो । होइन भने प्रधामन्त्री ज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषी हुनुहुन्छ नि, उहाँलाई बोलाएर सोध्नुभए हुन्छ । गठबन्धन रहन्छ, रहँदैन भन्नेमा मेरो कुरा छैन, तर ज्योतिषीहरुको भनाइ गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो ।’
उनले फेरि थपे, ‘यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर उहाँले राख्नुभएछ ? यो ज्योतिषीहरुको भनाइ हो । वैशाख ३० मा त उहाँहरुलाई हुनसम्मै हुन्छ । ढाडै भाँचिने गरेर ।’

अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने संकल्प लिएको बताउनु भयो । उहाँले नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको बताए । अध्यक्ष ओलीले देशको विकास गर्ने योजना र शक्ति नेकपा एमालेसँग मात्रै भएको बताए ।

नेकपा एमालेको मुख्य ध्येय नेपालको विकास गर्नु, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ड राख्ने भएको बताए । उनले नेकपा एमालेबिना देश विकास हुन नसक्ने दाबी गरे ।