धरान उपमनपा असोज २८ गतेसम्म बन्द – Nagarikabhiyan : National News

धरान उपमनपा असोज २८ गतेसम्म बन्द

 धरान । सुनसरीको धरान उपमहानरपालिमा कोरोना सङ्क्रमण बढेपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि असोज २२ गतेदेखि २८ गतेसम्म बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताउनुभयो ।

असोज २१ गते बसेको सर्वपक्षिय सर्वदलिय बैठकले तत्काल लकडाउन नगर्ने निर्णय भएको पनि मप्रमुख राइले जानकारी दिनुभयो । बजारमा स्वास्थ्य मापदण्ड कडाइ गर्ने र लकडाउन नगर्ने सहमती भएको हो । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै लकडाउन नगर्ने निर्णय गरिएको नेकपा अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

सर्वपक्षिय बैठकले पसलहरुमा मास्क अनिवार्य, सवारीसाधनमा मास्क र सेनिटाइजर अनिवार्य गरिने निर्णय गरेको बताउनुभयो । साथै चालक तथा सहचालकलाई मास्क अनिवार्य र यात्रुहरुलाइृ पनि मास्क अनिवार्य गर्न भनिएको छ । त्यसका लागि बजार अनुगमन प्रभावकारी गर्नुपर्ने सहमती भएको छ ।

उता इटहरी उपमहानगरपालिका पनि असोज २३ गतेसम्म बन्द रहने भएको छ । पटक पटक तेस्रो पटक पनि दुई दिन इटहरी उपमहानगरपालिकाको कार्यालय सहित २० वटै वडा असोज २३ गतेसम्म बन्द रहने भएको उपप्रमुख लक्ष्मि गौतमले जानकारी दिनुभयो ।