डा.केसीको समर्थनमा जनकपुरमा विरोध प्रदर्शन – Nagarikabhiyan : National News

डा.केसीको समर्थनमा जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा बुधबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

कोभिड-१९ क्विक रेस्पोन्स टिम र जनकपुरधामका युवाहरुको संयुक्त आयोजनामा स्थानीय रामानन्दचोकमा बुधबार साँझ विरोध प्रदर्शन गरिएको हो । केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए । उनले डाक्टर केसी १९ औं पटकसम्म अनसनमा बसेपनि उनको माग पुरा नहुनु दुःखद भएको बताए । उनले भने,‘डा. केसीको कुनै व्यक्तिगत स्वार्थ छैन, उनी आम नागरिकको लागि लड्दै छन् । उनको समर्थनमा सम्पूर्ण नेपाली जनतालाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा.केसीले १९औं सत्याग्रह सुरु गरेको आज २४ औं दिन भइसकेको छ । उनको स्वास्थ्य नाजुक बन्दै गईरहेको छ । तर, सरकारले भने अझैपनि उनको माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन् ।

डा.केसी व्यक्ति होईन् आवाज हो, केपी ओली सरकार मुर्दावाद, स्वास्थ्यमन्त्री मुर्दावाद, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा, लुटतन्त्र बन्द गर, डा.गोवीन्द केसीको जीवन रक्षा गर, आवर रियल हिरो डा.गोवीन्द केसी, यहाँ राजदुतको चिन्ता छ हजुर, के तिमी सत्याग्रह सत्याग्रह कराउँछौ, नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा नेपाली काँग्रेसका नगरसभापति मनोज साह, जिवनाथ चौधरी, वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साह, क्विक रेस्पोन्स टिमका डा.सज्जन ठाकुर, अनुष पाण्डेय, दिपक ठाकुर, बलराम गुप्ता, रमेश यादव, काँग्रेस नेतृ सम्झना वर्मा, मधेश अधिकार संघर्ष समितिका सरोज कुमार मिश्र, यानका राहुलराज साह, नेविसंघ महोत्तरीका जिल्ला नेता आशुतोष झालगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थिए ।

डाक्टर केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनसन सुरु गरेका थिए । उनलाई असोज ६ गते काठमाडौं लगिएको थियो ।