कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने
२६ माघ २०७८, बुधबार १७:१०
इनरुवा, माघ २६ गते । सुनसरी जिल्लाको सीमावर्ती कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको छ । बुधबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गरेसगैं गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको हो ।
गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्सरे सेवा नहुँदा सदरमुकाम इनरुवा तथा विराटनगर धाउन पर्ने अवस्थालाई हेरेर कोशी गाउँपालिकाले गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने गरि मेसिन हस्तान्तरण गरेको अध्यक्ष अंसारीले बताउनुभयो ।
स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, ग्रामिण परिबेश र बजारमा पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्सरे गर्ने र गर्भजाँच गराउनेको सख्याँ न्यून रहेको भन्दै पालिकाले गाउँमै पुगेर भिडियो एक्सरे सेवा दिने भएको कोशी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख तथा अपांगता रोकथाम तथा पुनरस्थाना कार्यक्रमका फोकल पर्शन राजकिसोर मेहताले जानकारी दिनुभयो ।
समयसमयमा भिडियो एक्सरे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्सरे शिविर सञ्चालन गर्ने उदेश्यले बोकेर लान सक्ने भिडियो एक्स–रे मेसिन हस्तान्तरण गरिएको मेहताको भनाई छ ।
लौकही स्वास्थ्य चौकीमा कार्यरत ललिता यादवले लौकही तथा कोशीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्सरे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्ने गरि मेसिन आएको बताउनुभयो ।
करुणा फाउण्डेन्सनको सहयोगमा प्राप्त भएको मेसिनले लौकही र हरिपुर स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्ने बताउनुभयो । गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ ।

१, सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया