सुनसरीमा परामर्श समिति गठन
२४ माघ २०७८, सोमबार १७:११
सुनसरीमा मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा सामूहिक रुपमा काम गर्नका लागि जिल्ला स्तारीय कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन भएको छ । सोमबार सुनसरी सदरमुकाम इनरुवामा महिला पुनर्स्थापना केन्द्र (ओरेक)को केन्द्रिय अध्यक्ष रेणु अधिकारीको उपस्थितीमा महिला अधिकारप्रति समर्पित एवम् लैङ्गिक समानता र सामाजिक न्यायका निम्ति जिल्ला स्तारीय कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन भएको हो । जिल्लामा मेनुका पोखरेलको अध्यक्षतामा ९ सदस्य जिल्ला स्तारीय कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन भएको जनाएको छ । समितिको सदस्यमा सरस्वती लुईटेल, कबिता मण्डल, कमला खत्वे, मेघराज न्यौपाने, जयकृष्ण यादव, भरत थापा, सहजादी प्रविण सहितका रहनुभएको छ । समितिले मानव अधिकारको समग्र सवाल सहित महिला माथि हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्यायमाथिको पहुँचको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अधयक्ष पोखरेलले बताउनुभयो । गठन कार्यक्रममा ओरेककी केन्द्रिय अध्यक्ष रेणु अधिकारीले मानव बेचबिखन विरुद्ध महिलावादी र अधिकारमुखि सोचमा आधारित भई महिला तथा बालबालिकाको बेचबिखनको अन्त्य गर्ने र प्रभावितको अधिकार तथा न्याय सुनिश्चताका लागि वकालत गर्ने उद्देश्यका साथ स्थापित ओरेक नामक संस्थाले महिलाअधिकार हनन मध्ये बेचबिखन एउटा परिणाम भएको निष्कर्ष निकाल्दै महिला अधिकारको मुद्दालाई फराकिलो नजरले हेर्ने गरेको बताउनुभयो । अधिकारीले महिलाको आफ्नो शरीर आफ्नै हो भन्ने यथार्थतालाई आत्मसात गरी महिला अधिकार प्राप्तीका निमित्त महिलाको उत्पादनशीलता, यौनिकता र गतिशीलतामाथिको नियन्त्रणको महत्वबारे समुदायका महिलालाई सशक्तिकरण गर्न आरेकले सहजीकरण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ओरेकका सुनसरी संयोजक शान्ती दनुवारले नेपालको महिलावादी आन्दोलनलाई सकारात्मक ढंगले अगाडी बढाउँदै महिला र बालिकाको अधिकार सुनिश्चितताको लागि राज्यलाई उत्तरादायी बनाउन र महिलामैत्री ऐन, नीति तथा कार्ययोजना निर्माणका लागि सबै तहको सरकारसँग समन्वय, सहकार्य र पैरवीमुलक गतिविधी गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिककर्मी निरा पोखरेल, तोया गिरी पौदार, रमेश भट्टराई, सविता गुप्ता, गिता पौडेल, सुमित्रा मेहता, कमला खतिवडा, कौशिला चौधरी, सरस्वती केसी , आरेकका युवराज न्यौपाने, शान्ती दनुवार, बिमला घिमिरे सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया