राजबिराज नगरपालिकामा ८ हजारलाई रासन बितरण – Nagarikabhiyan : National News

राजबिराज नगरपालिकामा ८ हजारलाई रासन बितरण

सप्तरी । लकडाउनको समयमा राहत नपाएर पिडामा परेका परिवारलाई राजबिराज नगरपालिकाले वडा ११ मा अतिगरिव तथा बिपन्न किसान र मजदुरलाई आज राहत बितरण गरेको छ ।

वडाको विभिन्न ठाउँवाट पहिलो चरणमा ३ सय परिवारलाई राहत बितरण सुरू गरेको वडा अध्यक्ष संजय यादबले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाले १६ वटै वडाका करिव ११ हजार भन्दा बढी गरिब परिवारलाई राहतको व्यवस्था गरिसकेको नगरप्रमुख शम्भु प्रसाद यादवले बताउनुभयो ।

जमध्य अहिले सम्म ८ हजार अतिगरिव तथा बिपन्न किसान र मजदुरलाई राहत बितरण गरेको नगर प्रमुख यादबले भन्नुभयो ।

यस्तै राजबिराज नगरपालिकाले १३ नम्वर वडा बाहेक सबै वडामा राहत बितरण कार्य सम्पन्न भई सकेको नगरप्रमुख यादबले बताउनुभयो ।

राहत प्याकेटमा १५ किलो चामल, दुई केजी दाल, एक केजी खाने तेल र एक किलो नुन बितरण गरिएको राजविराज नगरपालिकाले जनाएको छ ।

सबै वडामा राहत बितरणका लागि रासन पुगेकोले वडा १३ मा आईतवार देखि बितरण गरिने प्रमुख यादबले जानकारी दिनुभयो ।

उक्त वडाहरूवाट गरिब परिवारको नाम संकलन गर्न ढिलाई भएकोले राहत बितरणमा समेत ढिलाई भएको प्रमुख यादबले भन्नुभयो ।

गरिव परिवारको नाम संकलन गर्न हरेक वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वदलिय, नेपाल सशस्त्र प्रहरी, जनपद प्रहरी, प्रधानध्यापक, वडा सचिव, आदि लाई निर्देशन दिएको छ ।

त्यस्तै कञ्चनरुप नगरपालिका वडा नम्बर १२ ले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्ने गरिब दलित तथा अतिविपन्न परिवारलाई दोश्रो दिन पनि आज राहत वितरण गरेको छ ।

दोस्रो दिन प्रगति टोल , कुज्राहि , सिलाङ्गेटोल , लव टोली ,चर्खिया , चौफाल र कलौनी टोल का १ सय ३० परिवारलाई २५ केजीको चामल १ बोरा , नुन १ केजी , दाल १ केजी ,तेल १ लिटर प्रति परिवारका दरले वितरण गरिएको थियो ।

यस्तै साविकको धरमपुर ८ धरमपुरमा १ सय ३३ घरधुरीलाई २५ केजीको चामल १ बोरा , नुन १ केजी , दाल १ केजी ,तेल १ लिटर प्रति परिवारका दरले वितरण गरिएको राहत वितरण वडा स्तरीय समितिका संयोजक एवम् वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ८ ले आज पनि दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्ने गरिब दलित तथा अतिविपन्न परिवारलाई राहत वितरण गरेको वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले जानकारी दिनुभयो ।

वडा नम्बर ५ र ११ ले आजबाट राहत वितरण गरेको वडा अध्यक्ष कैलाश साह बताउनुभयो ।