शान्तिनगरका घरबारविहिन तथा सुकुम्बासीहरूमा भान्सा कोठा र सौचालय सहित तीन कोठे सुविधा सम्पन्न नयाँ पक्की घर
३ माघ २०७८, सोमबार १८:१५
सुनसरीको हरिनगर गाउँपालिका–६ शान्तिनगरका घरबारविहिन तथा सुकुम्बासीहरूमा भान्सा कोठा र सौचालय सहित तीन कोठे सुविधा सम्पन्न नयाँ पक्की घर पाएपछि खुसीयाली छाएको छ । हरिनगर ६ घुस्कीमा अवस्थित रुपमा कष्टकर जिवन वेतित गरिरहेका २० जना सुकुमबासीहरूको घर कतार च्यारेटी नेपालको सहयोगमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीको सहकार्यमा निर्माण गरेर सोमबार हस्तान्तरण गरेपछि खुसीयाली छाएको हो ।
भुमीहित तथा घरबारविहिन भएका परिबारलाई स्थानीय जग्गा दाता सैजुम मियाँले प्रदान गरेको जग्गामा कुल दुई करोड २३ लाख ८० हजार एक सय रुपियाँको लागतमा २० जना सुकुमबासीहरूलाई एक साथ हस्तान्तरण गरेको कतार च्यारेटी नेपालका कार्यवाहक निर्देशक इर्शद अलि सेखले जानकारी दिनुभयो । सेखका अनुसार कतार च्यारेटीको सहयोगमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीले निर्माण सम्पन्न गरेको भवन घर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराज यादवले साचो हस्तान्तरण गरेपछि एकसाथ २० परिवारमा खुसीयाली छाएको हो ।

हरिनगर गाउँपालिकाले आफ्ना नागरिकका लागि घर निर्माण गरेर सहयोग गरेको र आवास हस्तान्तरण गरेकोमा सहयोगीलाई हरिनगरका अध्यक्ष गफार अंसारीले धन्यवाद दिनुभयो । औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेकोमा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले पनि सार्थक र नमुना काम भएको भन्दै प्रसंशा गर्नुभयो ।
यहाँका नागरिकलाई हस्तान्तरण गरेका घरमा बस्ने सुत्ने दुईवटा कोठा, भान्सा कोठा र शौचालय छ भने प्रत्येकको घरको छतमा खानेपानी ट्याकी र विधुत समेत जडान गरिएको छ । यहाँको २० परिवारका लागि २१ हजार ४०० लिटरको खानेपानी ट्याकी समेत निर्माण गरि प्रत्येक घरमा धारा जडान नगरिएको र बिजुलीको समेत सुविधा दिएको छ ।
आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी हरिनगर गाउँपालिका ६ की मैमुन खातुनले अब टहरामा जाडोको चिसो सिरेटो खानु नपर्ने, गर्मीमा मछेट, वर्षामा पानी चुहेर हिलाम्मे र धुलो खानु नपर्ने भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । ‘अस्थाही टहरामा धरै कष्टकर तरिकाले जीवन यापन गर्नु परेको थियो,’ बिगतमा पाएको दुःख सुनाउँदै पक्की घरमा बसेकी खातुनले भन्नुभयो, ‘बर्खामा हुने डुवान र जाडोमा हुने सीतलहरको समस्याबाट अन्त्य भएको छ ।’
अस्थायी संरचनामा वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन निकै समस्या हुने गरेको थियो । यहाँका घरविहिान तथा सुकुम्बासीहरूको बसोबासको टुंगो लागेपछि दैनिक जीवनयापन गुजार्न सहज भएको उनीहरुको भनाई छ । ‘स्थानीय सरकारको पहल र कतार त्यारेटीको सहयोगमा ट्रष्टले पक्की घर बनाइदियो,’अर्का स्थानीय बीबी जसिरा खातुनले भने,‘अब जीवनयापनमा सहज हुने भयो ।’
पक्की घर बनेपछि जाटो र वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले ठूलो घरमा बस्न पाइयो । धनीको जस्तो पक्की घरमा बस्ने सपनामा पनि सोचेको थिईन तर पक्की घर स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घर भित्र शौचालय रहेकाले खुसी छन् ।
यहाँका सुकुम्बासीहरूलाई छोराछोरी हुर्काउन र बिहान–लुकीको छाक टार्न निकै गाह्रो थियो । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ नयाँ घर पाएकी दिलसेद अंसारीले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उहाँले हर्षिक मुद्रामा बताउनुभयो ।
नयाँ पक्की घर पाएका हरिनगर गाउँपालिका ६ शान्तीनगर बस्तीका सुकुमबासीका प्रत्येक परिवारका एक एक जनालाई सिलाईकटाई तालिम दिने र स्वरोजगार बनाउने भएको छ ।
भर हस्तान्तरण तथा उद्घाटन कार्यक्रम हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीका अध्यक्ष मोलाना हारुन खाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव हजरत हुसेनले गर्नुभएको थियो । कार्यक्रममा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीका कोषाध्यक्ष ऐयुव खाँ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, हरिनगर ६ का वडा अध्यक्ष इसराई अंसारी, जग्गादाता सैजुम मियाँ सहितको उपस्थिती रहेको थियो ।
१, सुनसरीको हरिनगर गाउँपालिका–६ शान्तिनगरका घरबारविहिन तथा सुकुम्बासीहरूका लागि निर्माण गरिएको भान्सा कोठा र सौचालय सहित तीन कोठे सुविधा सम्पन्न नयाँ पक्की घर भएको बस्ती ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा
२, सुनसरीको हरिनगर गाउँपालिका–६ शान्तिनगरका घरबारविहिन तथा सुकुम्बासीहरूका लागि निर्माण गरिएको सुविधा सम्पन्न नयाँ पक्की घरको साचो हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री जयराम यादव ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया