विद्युत प्राधिकरणबाट बिदा भए कुलमान – Nagarikabhiyan : National News

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान

काठमाडौं  ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाई गरेका छन् ।

आज (मंगलबार) प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे ।

उनले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।

उनले भने,‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौँ, अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् ।’ बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभई प्राधिकरणमा २६ वर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।

प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो, उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज पनि उठिरहेको छ, सरकार भने निर्णय लिन बाँकी छ ।