आइसोलेसनमा बस्नेलाई गुणस्तरीयहीन खाना – Nagarikabhiyan : National News

आइसोलेसनमा बस्नेलाई गुणस्तरीयहीन खाना

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाकोे रामान्नद सेवापीठमा सञ्चालनमा आएको आइसोलेसन केन्द्रमा बसेका कोरोना संक्रमितहरुलाई खाना गुणस्तरहीन खुवाएको गुनासो आएको छ ।

आइसोलेसनमा बसेकाहरुले पौष्टिक अहार पाउनुपर्नेमा गुणस्तरहीन खाना खुवाएको गुनासो गरेका छन् । चतरामा एक सय बेड क्षमताको आइसोलेसनमा आइतवार ९२ जना रहेकोमा अधिकाँशले आइसोलेसनमा बस्नेलाई गुणस्तर खाना नदिएको गुनासो पोखेका छन् ।

बराहक्षेत्र नगरपालिका ११ का २२ वर्षिय एक पुरुषले आफुहरुलाई चार दिन यता दुई पटक मात्रै खाना दिएको र त्यसमा पनि बेसार पानी भएको दाल , आलु र बन्धाकोबीको तरकारी र भात मात्रै दिएको गुनासो गर्नुभयो । ती पुरुषले आइसोलेसनमा बस्दाँ चिकित्सकको निगरानी सुरक्षाकर्मीको उपस्थिती नभएको र खाना गुणस्तरहीन दिएकाले थप जोखिम बढेको गुनासो गर्नुभयो ।

आफुले बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई गुनासो पोख्दा सुनवाई नगरेको र उल्टै खान नदिने बरु घरबाट ल्याउ भनेर धम्की दिएको बताउनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले समेत आइसोलेसनमा बसेकाहरुलाई गुणस्तरहीन दिएको बिषयमा चासो नदिएको र उल्टै न्यूँ खोजेको भन्दै कुरा नसुनेको कोरोना संक्रमितहरुको गुनासो रहेको छ ।

यता बराहक्षेत्रको चतरा आइसोलेसनमा संक्रमितहरुले .खान नपाएको र गुणस्तर नभएको बिषयमा प्रतिक्रिया माग्दा बराहक्षेत्रका प्रमुख निलम खनालले आर्थिकभार बढेको र त्यहाँ खान पु¥याउने समेत समस्या रहेकोमा सीमित श्रोत साधनका बीच खाना खुवाएको दाबी गर्नुभयो ।

खनालले आफुले सकेको ब्यवस्थापन गरेको समेत जिकिर गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने आफु कहाँ समेत गुनासो आएको र त्यस बिषयमा सम्वोधन गर्न नगर प्रमुख खनाललाई आग्रह गरेको प्रतिक्रिया दिनुभयो । प्रजिअ पोखरेलले धेरै संख्यामा संक्रमित भएकाले केही समस्या भएपनि त्यसमा आवश्यक सुधार गर्न नगर र सम्वन्धीत निकायलाई आग्रह गरेको समेत बताउनुभयो ।