कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण – Nagarikabhiyan : National News

कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

काठमाडौँ ।  कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचन समितिले प्रमाण पत्र वितरण गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेले प्रमाणपत्र वितरण गरेका हुन् ।

कांग्रेसले पहिलो पटक संघीय संरचनाबमोजिम वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गरिसकेको छ भने केन्द्रमा अहिलेसम्मकै धेरै १३४ पदमा निर्वाचन गरेको छ। महाधिवेशनबाट सभापति शेरबहादुर देउवा पुनः दोहोरिएका छन् भने उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ गरी १२ पदाधिकारीसमेत निर्वाचनबाटै चुनिएर आएका छन् ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक/एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो। यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने व्यवस्था छ। नवनिर्वाचित सबैलाई प्रमाण पत्र वितरण भएपछि लगत्तै सभापति देउवाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक राखेका छन् ।