संघीय सरकारले प्रदेशलाई हेपेको छ : केदार कार्की – Nagarikabhiyan : National News

संघीय सरकारले प्रदेशलाई हेपेको छ : केदार कार्की

विराटनगर ।  प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारले संविधानमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई नदिंदा काम गर्न कठिनाई भइरहेको गुनासो गरेका छन् ।

शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विराटनगरमा आयोजना गरेको प्रदेश १ को मानवअधिकारको अवस्था विषयक अन्तरक्रियामा संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारलाई काम गर्न अफ्ठ्यारो भइरहेको गुनासो गरेका हुन् । माथिल्लो तहका सरकारले तल्लो तहका सरकारलाई हेपेको उनको आरोप छ । कार्कीले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेशको क्षेत्राधिकारभित्रको कारगारहरूको सुधार गर्न नसकिएको बताए । उनले अधिकार नदिए पनि कारागार सुधारका लागि प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले प्रदेश १ मा कारागार व्यवस्थापन भद्रगोल हुँदा कैदीबन्दीले सास्ती खेपिरहेको बताए । उनले प्रदेश–१ मा मानव अधिकार उल्लंघनका थुप्रै घटना भएको र त्यसलाई अभिलेखीकरण गरेर इन्सेकले वर्ष पुस्तक तयार पार्न लागेको जानकारी दिए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेललगायतले मानअधिकार उलंघनका घटना हुन नदिन सरकारसँगै नागरिक समाज पनि संवेदनशिल बन्नुपर्ने धारणा राखेका थिउ ।