मुख्यमन्त्रीको आर्थिक सल्लाहकार राउत
७ पुष २०७८, बुधबार १६:११
विराटनगर । विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो । राउतले आजै पदभार ग्रहण गरेका छन् । उनले प्रदेशको आर्थिक विकासमा सम्पूर्ण निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “आर्थिक मुद्दालाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न प्रदेश सरकारलाई मेरोतर्फबाट सुझाव हुनेछ,” राउतले भने, “जुनसुकै राजनैतिक दलको सरकार बने पनि आर्थिक मुद्दा सबैको एउटै हुनुपर्छ ।”
निजी क्षेत्रलाई समेटेर अगाडि बढ्ने उद्देश्यका साथ आर्थिक सल्लाहकारमा नियुक्त गरेकोमा राउतले मुख्यमन्त्री र प्रदेश सरकारलाई धन्यवादसमेत दिए । राउत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्षका साथै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया