ट्राफिक सप्ताहअन्तर्गत साइलकमा स्टीकर – Nagarikabhiyan : National News

ट्राफिक सप्ताहअन्तर्गत साइलकमा स्टीकर

विराटनगर ।  दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय मोरङले नगर क्षेत्रभित्र रहेका विभिन्न चौकहरूमा पुगेर साइकल यात्रुहरूलाई सचेत गराउँदै साइकलमा स्टिकर लगाएको छ ।
विराटनगरस्थित हाटखोला चौक, भुमिसुधार चौक र बरगाछीलगायतका चौकहरूमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वान लगायत विभिन्न संघ–संस्थासँगको सहकार्यमा ट्राफीक कार्यालयले साइकल यात्रुहरूलाई दुर्घटना हुनबाट सचेत गराउँदै साईकलमा स्टिकर लगाएको हो । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश–१ आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नम्बर प्रदेश ट्राफिक प्रहरी सुनसरीले आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिनको कार्यक्रममा दुर्घटना हुनबाट सचेत गराउँदै साइकलमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।
गाउँ–गाउँबाट साइकलमा काम गर्न सहरमा आएका मजदुरहरूलाई दुर्घटनाबाट सचेत गराउँदै साइकलमा स्टिकर लगाएको उनले बताए । सप्ताहव्यापी दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रमअन्तर्गत विद्यालयका बालबालिकाहरूलाई समेत ट्राफिक सचेतनमूलक तालिम दिने जिल्ला ट्राफीक कार्यालय मोरङले जनाएको छ ।