सुनसरीका आलु किसानको गुनासो, जिल्लाभित्रै राज्यको ज्यादती
३ पुष २०७८, शनिबार १७:०६
देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका तरकारीको उदगम थलो भएपनि किसानले उत्पादन गरेको तरकारी र आलु बजार लान नपाउदै प्रहरीले खोस्ने गरेको गुनासो गरेका छन् । देवानगञ्ज गाउँपालिकामा आफ्नै ठूलो बजार नभएको र भण्डार गर्ने ठाउँ समेत नभएकाले उत्पादित तरकारी तथा अनाजको विक्रिका लागि सदरमुकाम इनरुवा, इटहरी र मोरगंको विराटनगर लानुपर्ने बाध्यता रहेको छ । सोही बाध्यतालाई सीमापारीको तरकारी र आलु भन्दै नेपाल प्रहरी र भन्सार कर्मचारीले बाटोबाटै नियन्त्रणमा लिएर लिलाम गर्ने गरेकाले किसान मारमा परेका छन् । मंसिर २९ गते मात्रै देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जका किसान खेलानन्द यादवले उत्पादन गर्नुभएको आलु इनरुवा बजार लाने क्रममा बजारमा पुग्न नपाउदै इनरुवा ९ बबिया क्षेत्रबाट प्रहरीले भारतीय आलु भन्दै खोसेर भन्सार बुझाएको गुनासो गर्नुभएको छ ।
राज्य पक्षबाट आफ्नो र छिमेकी प्रमोद यादव, जुगेश्वर पंडितको एक विघा क्षेत्रफल खेतमा उत्पादन भएको आलु चार वटा ट्याक्टरमा देवानगञ्जबाट इनरुवा बजार लाने क्रममा ट्याक्टर चालकबाट फोन खोसेर स्विच अफ गरी प्रहरीले खोस्ने काम गरेको गुनासो गर्नुभयो ।
यादवका अनुसार आफ्नो खेतमा खनेको आलु भएको र आलु ट्याक्टरमा लोड गरेर बजार लाने क्रममा ज्यादतीपूर्ण तरिकाबाट कब्जामा लिएको छ । आलुमा गरेको लगानी अनुसारको प्रतिफल नपाउने चिन्ताका बीच बजार लान नपाउदै सरकारी निकायबाट नियन्त्रणमा दिनु दखद भएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बताउनुभयो । मेहताले देशभीत्र नै किसानलाई यसरी धरपकड गर्ने काम गरयो भने किसान आतंकित हुने र निरास बन्ने तर्क गर्नुभयो ।
देवानगञ्ज गाउँपालिका ४ का वडा अध्यक्ष चन्देश्वर मेहताले सीमामा चोरी तस्कारीको मार खेपिरेका किसानलाई मल, खाद र विउँ अनि सिचाईको अभाव भएको तर पनि जेनतेन गरेको खेतीपातीबाट उत्पादन गरेको तरकारी र आलु बजार लान नपाउदै प्रहरीले नियन्त्रणमा लिने भन्सार बुझाउने काम गरेको गुनासो गर्नुभयो । सोही वडाका वडा सचिव सन्तोश झाले घटना आश्चर्यजन भएको र आफ्नै वडाका किसानले केही वर्षयता व्यावसायिक आलुखेतीमा लागेको बेला राज्यबाट प्रोत्साहन हुनुपर्नेमा त्यस विपरितको काम भएको प्रतिकृया दिनुभयो । यहाँका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेकाले केही मूल्य पाउने आशमा इनरुवा, इटहरी, धरान लाने गरेकोमा राज्यबाटै धरपकड र भन्सार बुझाउने काम निन्दनीय रहेको झाको भनाई छ । भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेको बेला आफ्नै देशमा आलु उत्पादन गर्दा सास्ती र दुख खेप्नुपरेको झाले जानकारी दिनुभयो ।
आलुमा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासोको बीचमा सीमा निजकको खेतबाट ल्याएको आलु खोस्ने कामले किसानलाई चिन्तित बनाएको स्थानीय सन्तोश मेहताले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै किसानजलाई शान्ती सुरक्षा दिन प्रशासन तयार रहेको तर जिल्ला भन्सार कार्यालय प्रमुख अर्जुन न्यौपानेले सुराकीका आधारमा भारतीय आलु भनी समातेको प्रतिकृया दिनुभयो । प्रजिअ यादवले भन्सारले समातेकाले भन्सारबाटै यसको छिनोफाने हुने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया