खाध्य अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

खाध्य अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न

सुनसरीको कोशी गाउँपालिकामा खाध स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको कार्यक्रमका सहभागिहरूले खाद्यको पहुँच सबै नागरिकसम्म पुग्नुपर्ने र त्यो पूर्णतः स्वच्छ हुनुपर्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ प्रदेश र कोशी गाउँपालिकाको संयोजनामा कोशी गाउँपालिका–१ लैकहीमा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले खाद्य सम्बन्धी गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै मेहताले इन्सेक मानव अधिकारको सवालमा उत्कृष्ट संस्था भएको र स्थानीय सरकारले स्थानीय तहमा आफ्नो पहुँच कहाँ सम्म पुर्याएको छ साथै लक्षित बर्ग र समुदायमा काम गर्न सकेको छ कि छैन जस्ता गहन विषयमा निगरानी राखेको बताउनुभयो । इन्सेकको माध्यमबाट सबै वर्ग समुदायमा शिक्षा, स्वास्थ्य, खाध्य र आबाशका सुचना पुग्ने कुरा पनि बताउनुभयो । कृषि उत्पादनका लागि गाँउपालिकाबाट बाँझो जग्गा र बालुवा तथा बगरको खेतीमा प्रोत्साहन कार्यक्रम, खाद्यन्नको लागि रोजगार कार्यक्रम गरेको र कोभिड १९ ले गर्दा रोजगार विहिन व्यक्तिलाई अनुदानमा केही बिउ उपलब्ध गराउने योजनाको बारेमा जानकारी दिनुभएको थियो ।
पछिल्लो समय अखाद्य बस्तुको बिक्रिवितरणले मानव स्वास्थ्यमा हानी गरेको र यसबाट कयौँ नागरिक प्रभावित भएकाले यस विषयमा सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरेले बताउनुभयो । वहाँले प्रत्येक नागरिक स्वास्थ्य हुनका लागि खानेपानी र खानपान पूर्णतः स्वच्छ र स्वस्थ हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अभिमुखिकरण गर्दै घिमिरेले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सचेतनाको कार्यक्रम सहित प्रत्येक चौमासिकमा कार्य प्रगति विवरण सार्वजनिक गर्ने बताउनुहुदै खाध्यानमा स्वच्छता आवश्यक रहेको बताउनुभयो । वहाँले कोशीमा आयोजित कार्यक्रममा सबै नागरिक सचेत भएमात्र स्वच्छ र स्वस्थ खानेकुरा उपभोग गर्न पाउने भएकाले सबलाई आ आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।
वहाँले इनरुवामा रहेको कार्यालयको सक्रियतामा कोरोना महामारीका बखतमा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको र अहिले पनि निरन्तरता दिएको बताउनुभयो । यस्तै, गुणस्तर नियन्त्रणका लागि दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएकोमा गत वर्ष २० ओटा पसले र होटेल सहित उत्पादकलाई कार्वाहीको दायरामा ल्याएको बताउनुभयो । वहाँले दैनिक उपभोग्य वस्तुको गुणस्तर मापदण्डविपरीत रहेको पाइएको खण्डमा कार्वाही गर्ने कार्य कार्यालयले गर्दै आएको बताउनुभयो । उहाँका अनुसार कुल नमुनाको परीक्षण गर्दा २० ओटा गुणस्तरहिन वस्तु फेला परेको थियो । कारबाहीमा पर्नेहरुमा खानेपानी, घिउ र कुखुराको दाना उत्पादक उद्योगहरु रहेका छन् ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवामा रहेर जिल्लाको १२ वटै पालिकामा अनुगमन तथा निरिक्षण गर्दै आएको घिमिरेको भनाइ छ । यससँगै खाद्यान्न उत्पादनका कार्यमा जोड दिनुपर्ने, जग्गा प्लटिङ गरेर घर बनाउने कार्य रोक्नुपर्ने, सबै नागरिकको पहुँच पुग्ने गरेर सुपथ खाद्य पसल सञ्चालन गरिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
वहाँले चाडपर्वमा मात्रै नभई नियमित बजार अनुगमन लगायतका क्रियाकलाप बढाउन स्थानीय तहलाई आग्रह गर्नुभयो । कार्यक्रमका सहभागीहरूले चाडपर्वलाई मात्रै लक्षित गर्नुभन्दापनि अन्य समयमा समेत बजार अनुगमन गर्न आग्रह गरेका थिए ।
खाध्य उत्पादनदेखी उपभोगसम्ममा गुणस्तर र स्वच्छतामा सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा सहभागिहरूले जोड दिएका थिए । मानव अधिकार समूह कोशीका सचिव विष्णुकुमार यादवले कृषिमा लागेका किसान बाहेक अरु सबै उपभोक्तालाई गठी गरिहेको र गुणस्तरमा समेत ध्यान नदिएकाले त्यसमा सरकार गम्भिर भएर अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष द्रोपदी साहले खाद्यको अधिकारबाट कोही नछुटोस् र भोकै बस्ने अवस्थाको अन्त्यका लागि वडा कार्यालयले काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस विषयमा थप सचेतना मुलक कार्य गर्न डिभिजन कार्यालय र इन्सेकलाई आग्रह गर्नुभयो ।
इन्सेकका जिल्ला सहजकर्ता जयकृष्ण यादवले कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरे र श्रृजन जोसिले गर्नुभएको थियो । कार्यक्रममा कोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, श्रोत व्यक्ति सोमराज ढकाल, स्वास्थ्य शाखा प्रमुख जमिल अख्खतर, कृषि शाखा प्रमुख सुनिल कुमार साह, कोशी गाउँपालिका १ का कार्यवाहक अध्यक्ष जगन्नाथ मण्डल, दिपक कुमार मण्डल, वडा सदस्यहरु पारासीदेवी सरदार, नितादेवी सरदार, अकली सरदार, पार्वती मुखिया, सियाराम साह, बराहिम मंसुरी, कोशी गाउँपालिका वडा नम्बर २ का वडा सदस्यहरु विष्णुदेव प्रसाद साह, रामचरण यादव सहितकाले बोल्नुभएको थियो । त्यसैगरी उद्योग वार्णिज्य संघ लौकहीका विनोदकुमार यादव, प्रमोद यादव, नविन नेपाल, नहिम अंसारी, मानव अधिकार समूहका चन्द्रकला नेपाल, राजकुमार शर्मा, श्याम खंग, कैहकशा अन्जुम, आजाद मियाँ, प्राविधिक मुन्ना ठाकुर र पत्रकार पवन रौनियार तथा मोहोसिम आलम सहितको उपस्थिती रहेको थियो । कार्यक्रमका कृषि शाखा प्रमुख सुनिल कुमार साहले गाँउपालिकाले कृषकको उत्पादमा गाउँपालिकामा गरिएको कार्य तथा आगामी आर्थिक वर्ष ०७८ ÷०७९ का योजनाहरू प्रस्तुत गर्नुभएको थियो । योजना प्रस्तुत गर्दै उहाँले कोशी गाँउपालिकाले कृषकलाई कृषि सम्बन्धी कार्यक्रम गर्न एक मुस्ट रुपमाम ५० लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । मानव अधिकार समूह, कृषि समूह, आमा समूह र जनप्रतिनिधिको उपस्थिति रहेकोमा कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।
१,सुनसरीको कोशी गाउँपालिकामा खाध स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा