काठमाडौँ । सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको छ।
पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले पार्टी गठन गर्नु परेको बताए । उनले भने, ‘वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन् तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान छ।’
पत्रकार सम्मेलनमा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साहसमेत सहभागी थिए। पार्टीमा उनीहरुको भूमिकाबारे भने केही खुलाईएको छैन। गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।
