गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा
२७ मंसिर २०७८, सोमबार १५:५६
जनकपुरधाम । गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् । प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले केन्द्रले मागअनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै आएको जनाएको छ । ‘वर्षेनी मलको माग बढ्दै गएको छ,’ कृषि सामग्री लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने, ‘केन्द्रले सोअनुसारको मल उपलब्ध नगराउँदा यहाँका किसानले समस्या भोग्दै आएका छन् ।’
गत आर्थिक वर्ष ०७७-७८ मा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।
चालू आर्थिक वर्षमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डीएपी मलको लक्ष्य रहे पनि अहिलेसम्म केन्द्रले दुई हजार नाै सय पाँच मेट्रिक टन युरिया र एक हजार ६ सय २७ मेट्रिक टन डीएपी मात्रै उपलब्ध गराएकोमा दुई हजार तीन सय ५० मेट्रिक टन युरिया, एक हजार पाँच सय ८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको उनले बताए । पाँच सय ५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी अहिले गोदाममा मौज्दात रहेको उनले बताए । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया