सुनसरीका सरकारी कार्यालयले तिर्दैनन विधुत महसुल
१६ श्रावण २०७७, शुक्रबार १६:४६
इनरुवा । सुनसरीका अधिकाँश जिल्ला स्तरीय सरकारी कार्यालयहरु विधुत महसुल नतिरेको पाइएको छ । नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रका अनुसार जिल्ला सदरमुकाम इनरुवाका सरकारी कार्यालयहरुले समयमा विधुत महसुल नतिरेको हो ।
विधुत महसुल नतिर्ने कार्यालयमा इनरुवा अस्पताल , जिल्ला समन्वय समिति लगायतका दर्जन बढी कार्यालय रहेको छ । विधुत महसुल नतिर्ने इनरुवा जिल्ला अस्पताल माथि ५ लाख ६२ हजार र जिल्ला समन्वय समिति अवास विधुत महसुलको २ लाख १५ हजार ४९ रुपैयाँ वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ को अवधिमा सरकारी कार्यालयहरुबाट १५ लाख ३९ हजार ८ सय २१ रुपैयाँ वक्यौता असुली गर्न बाँकी रहेको प्राधिकरणका सहायक प्रवन्धब इं रामउदगार साहले जानकारी दिनुभयो । प्राधिकरणले विधुत महसुल नतिरेको बिषयमा सचेत गराएको र अटेर गर्नेहरुलाई कार्वाही समेत गर्दै आएको साहले बताउनुभयो । साहले अति आवश्यक क्षेत्र अस्पताल रहेकाले विधुत नकाटिएको तर भुक्तानीका लागि पत्र काटेको बताउनुभयो ।
यसैगरी जिल्ला समन्वय समितिलाई पनि दुई चोटी पत्र काटेको बताउनुभयो ।
इनरुवाका रहेको सरकारी कार्यालयहरु मध्ये केहीले मात्र समयमा विधुत महसुल तिरेको बताइएको छ । नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रले कोरोनाको महामारी र लामो समय भएको लक डाउनलाई मध्यनजर गर्दै कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुख साहले बताउनुभयो ।
इनरुवा अस्पताल र जिल्ला समन्वय समिति सुनसरी बाहेकका सरकारी कार्यालयहरुले विधुत महसुल ४ हजार देखी माथि नै तिर्न बाँकी रहेको भएतापनि तिर्नको लागि चासो नदेखाएको विधुत प्राधिकरणका प्रमुख साहले बताउनुभयो ।
सर्वसाधारणहरुले नतिरेको अवस्थामा कार्वाही गर्दै आएको र लकडाउनले गर्दा कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुखको भनाई रहेको छ ।
सरकारी कार्यालयहरुले सानो रकम बुझाउन बाँकी रहेकोले भुक्तानी समयमै गर्नका लागि प्रमुख साहले अनुरोध गरेका छन् । सरकारी कार्यालयहरुले बिधुत महसुल तिर्नका लागि ध्यान नदिएकोले जनमानसमा गलत किसिमको खबर प्रवाह हुने गरेको प्राधिकरणको बुझाई रहेको छ ।
सरकारी कार्यालयहरुले विधुतको प्रयोग गर्ने र समयमा नतिर्नेलाई कार्वाहीको प्रक्रियालाई कडा पार्दै अगाडी बढ्ने योजना रहेकोले समयमा विधुत महसुल तिरी बाँकी वक्यौत्ता क्लियर गर्न सबै चनाखो हुनुपर्ने साहको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया