उत्कृष्ट करदाता र कर्मचारीलाई राजस्वको सम्मान
७ मंसिर २०७८, मंगलवार १५:४५
इटहरी । आन्तरिक राजस्व कार्यालय इटहरीले कर सप्ताहअन्तर्गत उत्कृष्ट करतादा र कर्मचारीलाई सम्मान गरेको छ ।
गत मंसिर १ गते सुरु भएको कर सप्ताहअन्तर्गत मंगलबार भएको समापन कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिएको हो । जसअन्तर्गत प्रदेश–१ का सांसद् तथा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक निलम बस्नेत, सुदर्शन सेक्यूरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामाङ, धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तीय संस्था प्रा. लि. का कल्याणी तिम्सिनालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले सबैलाई सम्मानपत्रसहित सम्मान गरे ।
साहेवालाई आर्थिक वर्ष ०७६÷०७७ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करतादा, तामाङलाई सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने करदाता, बस्नेतलाई ट्रेडिङतर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यवासयी र सपोर्ट लघुवित्तका तिम्सिनालाई सेवातर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाताको रुपमा सम्मान गरिएको हो ।
यसैगरी नायव सुब्बा शोभित घिमिरेलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ । यसैगरी सो अवसरमा करसप्ताहअन्तर्गत भएको व्याडमिन्टन प्रतियोगिताको विजेता तथा उपविजेत टीमलाई समेत मेडल तथा पुरस्कार वितरण गरिएको छ । कार्यालयका प्रमुख शान्तिराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश–१ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तकिर मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, इलाका प्रहरी कार्यालय इटहरीका डीएपी खगेन्द्रबहादुर खड्का, सुनसरीका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न वस्तुगत व्यवसायी संघका पदाधिकारीहरु लगायतको सहभागिता रहरेको थियो ।
कर सप्ताह अन्तरगत यसअघि कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता, प्रभातफेरी, रक्तदान, वृद्धाश्रममा खाद्यान्न वितरणलगायतका कार्यक्रम गरिएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया