देवानगञ्ज गाउँपालिकाको भवन निर्माण सम्पन्न, उद्घाटनका लागि प्रम देउवा आउनुहुदै – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाको भवन निर्माण सम्पन्न, उद्घाटनका लागि प्रम देउवा आउनुहुदै

देवानगंज । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ । सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकाले झण्डै आठ करोड ५० लाख लागतमा निर्माण सम्पन्न गरेको आफ्नो प्रशासनिक भवनको आईतबार उद्घाटनको तयारी गरेको छ ।

सीमावर्ती क्षेत्रमा रहेको प्रशासनिक भवन ३६ कोठे सुविधा सम्पन्न भएको र त्यसको उद्घाटनका लागि आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा आउदैहुनुहुन्छ । प्रम देउवाले सीमावर्ती क्षेत्र देवानगञ्जको नवनिर्मित भवनको उद्घाटन र त्यसपछि बिपी स्मृति पार्कको सिलान्यास समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले नवनिर्मित भवनलाई उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकोप्टरमा विहान ११ बजे देवानगञ्ज आउनुहुने कार्यक्रम गरेको बताउनुभयो । उहाँले विगतमा कोरोना कहरका कारणले केही अवरोध भएपनि हाल निर्माण सम्पन्न भएकाले प्रधानमन्त्री देउवाबाट उद्घाटन हुन लागेको बताउनुभयो ।

वहाँले वडा कार्यालयहरुको पनि भवन निर्माणको लहर चलेको बताउनुभयो । यसैबीच सूचना अधिकृत जनार्दन मेहताका अनुसार देवानगञ्जमा सडकबाटो निर्माणको कार्यले पनि तिव्रता पाएको छ । गाउँमा हिलो र धुलो सडकहरुमा धमाधम उच्चस्तरीय ग्राभेल र कालोपत्रेको काम भएको मेहताले बताउनुभएको छ ।

केही स्थानमा काम सम्पन्न भएको छ भने केही ठाउँमा कालोपत्रेको काम सुरु भएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले जानकारी दिनुभयो ।
अध्यक्ष मेहताका अनुसार कप्तानगञ्ज नयाँ हटियादेखी पाचोसिम्बरसम्मको बाटो कालोपत्रे भएको छ । वर्षौदेखी हिलो र धुलो रहेको सडक निर्माणको काम भएकोले स्थानीयहरु समेत खुसी भएको देवानगञ्ज ३ का वडा अध्यक्ष अनिल कुमार भगतले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिकाको कप्नागञ्ज क्षेत्रमा मात्रै पाँच किलो मिटर बाटो कालो पत्रे र उच्चस्तरीय ग्राभेल गर्ने काम भएको भगतले बताउनुभयो ।

उता देवानगञ्ज गाउँपालिका ७ सिनुवारीमा हिलो हुने दुई वटा बाटोमा आरसिसि ढलान गरिएको छ । आरसीसी ढलान सहितको बाटो निर्माण भएकाले आवतजावतमा सहज भएको राजगञ्ज सिनुवारीका विजल यादवले बताउनुभयो । त्यसैगरी देवानगञ्ज गाउँपालिका ४ नम्बर वडा कार्यालय भवन समेत निर्माण सम्पन्न भई कार्यालय उद्घाटन भएको ४ नम्बर वडा अध्यक्ष चन्देश्वर मेहताले जानकारी दिनुभयो ।