मोरङको कटहरीस्थित फर्नेस आयल उद्योगमा आगलागी
१ मंसिर २०७८, बुधबार १९:२३
विराटनगर । पुरानो टायरहरु पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी–४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ ।
बुधबार बिहान पौने ६ बजे आगलागी हुँदा उद्योगमा कच्चापदार्थका रुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ । यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेसिनहरुमा क्षति पुगेको छ । दुई सिफ्टमा सञ्चालन हुने उद्योग गएरातिको बिहान २ बजे दोस्रो सिफ्टपछि बन्द अवस्थामा थियो । सोही समयमा आगलागी भएको हुनसक्ने उद्योग सञ्चालक विनित सिंघानियाले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनको अनुमान छ ।
विराटनगर महानगरपालिकाभित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाईएको उद्योग प्रशासनले जनाएको छ । टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका विषयमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया