बुटवलबाट कुलमानको गुनासो : विद्युत विस्तारमा ऐन नै बाधक – Nagarikabhiyan : National News

बुटवलबाट कुलमानको गुनासो : विद्युत विस्तारमा ऐन नै बाधक

बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएको गुनासो गरेका छन् । हाल कायम रहेका विभिन्न ऐन नियमका कारण काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने गरेको गुनासो गरे ।

ऐनमा व्यवस्था भए अनुसार जग्गा अधिग्रहण तथा वन क्षेत्र प्रमुख समस्याका रुपमा रहेका छन् । शनिबार बुटवल आएका घिसिङले ऐन नियमकै कारण वन क्षेत्र तथा सरकारी स्वामित्वका जग्गाहरुमा नै विद्युत विस्तार गर्दा बाधक बन्ने गरेको गुनासो गरेका हुन् ।

एक्सटेन्सन लाइन विस्तार गर्न ‘राइट अफ वे’का लागि वन क्षेत्रहरुमा जग्गा अधिग्रहण प्रक्रिया लामो र जटिल हुँदा समयमै योजनाहरु सम्पन्न गर्न नसकिने अवस्था रहेको उनले बताए । ‘वन क्षेत्रमा रुख काट्नका लागि मन्त्रिस्तरको निर्णय हुनुर्पो, उक्त प्रक्रियामा पुग्दासम्म एक÷डेढ वर्ष लाग्छ ।’–उनले भने ‘स्वीकृति लिएर आउँदासम्म त्यहाँ रहेका रुखहरु पनि ठूला भइसकेका हुन्छ, फेरी रिकाउन्ट गर्न पर्यो । यो प्रक्रिया नै अति जटिल हुँदा काम गर्न गार्हो छ ।’

प्रशारण लाइनमा प्रयोग भएका जग्गाको भाडा तिर्ने वा जग्गाको सट्टामा अर्को जग्गा किनेर दिनु पर्ने लगाएतका झन्झटिलो नीतिले गार्हाे भइरहेको उनले बताए ।

हालको ऐनअनुसार काम गर्न गार्हो मात्र नभई लागतमा बढी लाग्ने गरेको उनले बताए । त्यसैगरी निजी जग्गाहरुमा समेत विभिन्न ठाउँका योजनाहरुमा अदालतबाटै स्टे अर्डर आउँदा काम रोक्नु पर्ने अवस्था आएको उनले सुनाए।