अस्पताल सुधारको माग गर्दै प्रशासनमा जानकारी पत्र – Nagarikabhiyan : National News

अस्पताल सुधारको माग गर्दै प्रशासनमा जानकारी पत्र

सुनसरी सदरमुकाम इनरुवामा एक वर्षदेखी आन्दोलनमा रहेको इनरुवा अस्पताल सुधार संधर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई माग सहितको जानकारी पत्र बुझाएको छ । समितिका संयोजक दिलिपचन साहुको नेतृत्वको टोलीले जिल्ला प्रसाशन कार्यालय इनरुवा, सुनसरीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई २५ वुदें माग सहितको जानकारी पत्र बुझाएको हो । समितिले बुझाएको जानकारी पत्रमा जिल्ला सदरमुकाम इनरुवामा रहेर सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनको पक्षमा वकालत गर्दै आएको सन्दर्भमा नागरिक समाजको भुमिका अन्तरगत इनरुवा अस्पतालमा रहेको ढीलासुस्ती, दरबन्दी अनुसारको चिकित्सक अभाव, सेवासुविधानको कमि सहतिका सवाललाई उठान गर्दै एक वर्षदेखी संघर्षमा रहेको जानकारी गराएको उल्लेख गरिएको छ । मानवको सेवा र स्वास्थ्य उपचारका लागि इनरुवा अस्पताल, अस्पताल जस्तो हुनुपर्छ भनेर विभिन्न २५ बुदे मागहरु राखी २०७७ मंसिर १२ गते अस्पताल सुधार संधर्ष समिति गठन भई सोही वर्षको मंसिर १७ गते इनरुवा अस्पताल विकास समिति, इनरुवानगर प्रमुख, तत्कालिन प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयमा जानकारी र ध्यानाकर्षण पत्र बुझाएकोमा माग सुनुवाई नभएको भन्दै फेरी जानकारी पत्र बुझाएको साहले जानकारी दिनुभयो । साहुका अनुसार गत मंसिर १७ गते संघिय सरकारको स्वास्थ्यमन्त्रीलाई र मंसिर ३० गते प्रदेश १ को मुख्यमन्त्री, सामाजिक विकास मन्त्री ज्ञापन पत्रबुझाएकोमा आश्वासन बाहेक केही सुधार नभएकाले पहलका लागि फेरी दवाब स्वरुप पत्र बुझाएको हो ।
संघर्ष समितिको प्रमुखमागहरुमा दरबन्दीअनुसारको मे.सु.सहित डाक्टरहरु, प्राविधिक सहित कर्मचारीहरु हुनुपर्ने, ब्लड बैंक शुरुवात हुनुपर्ने, आई,सि.यु, भेन्टीलेटर र सिटी स्केनको व्यवस्थाहुनुपर्ने, ल्याब २४ घण्टा शुरुवातहुनुपर्ने, विमाबाट पाउनुपर्ने औषधीहरु पाउनुपर्ने, अनावश्यक राजनैतिक भर्नाहरु खारेज हुनुपर्ने, गत र यस वर्षको कोभिड १९ को समयको हरहिसाब सार्वजनिक गर्नुपर्ने, अस्पतालको सामाजिक लेखापरीक्षण हुनुपर्ने रहेका छन ।
संघर्ष समितिले ज्ञापन पत्रबुझाएको र सोमा दिएको अल्टिमेटमको समय सिमा पछि शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु गरिरहँदा पुलिस प्रशासन गिरफतार गरि अनावश्क दुःख दिएको स्मरण गराएको छ । असोज ५ गतेदेखी ११ गतेसम्म धर्ना कार्यक्रम सकेर चाडपर्वमा विराम दिएकोमा अहिले वडातहमा भेला, छलफल र अन्तरकृया तथा थप आन्दोलनको तयारी गरिरहेको जनाकारी प्रशासनलाई सो पत्र मार्फत गराएको छ । त्यस पत्रमा मागहरु एक महिनाभित्र सम्बोधन भएन भने मंसिर १ गतेदेखी थप आन्दोलन गर्ने, रिलो अनसन, आमरण अनसन, सम्बन्धीत निकायमा तालाबन्दी सहितका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ ।