पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन – Nagarikabhiyan : National News

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं ।  संसदको विकास तथा प्रविधि समितिले श्रमजिवी ऐन विपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानून अनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजिवी पत्रकार र कार्यरत कर्मचारीलाई जवर्जस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारबाही गर्न समितिले निर्देशन दिएको हो ।

बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारबाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले (कोभिड–१९) का कारण सञ्चार क्षेत्रमा परेको असरको विस्तृत अध्ययन गरी यसको प्रभावका बीच प्रकाशन र प्रशारणलाई निरन्तरता दिई सूचना प्रवाहमा योगदानका आधारमा सञ्चारगृहलाई सहुलित राहत र सुरक्षाको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको छ ।

आज (मंगलबार) समितिमा मन्त्री डा.युवराज खतिवडा र पत्रकार महासंघका पदाधिकारीहरुसँग छलफल भएको हो ।