मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोले अवरुद्ध
५ श्रावण २०७७, सोमबार २०:२१
काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना-६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युतको पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१.५ किलोमिटर दूरीमा छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ ।
पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट र नारायणगढ तर्फबाट लोडर परिचालन गरिएको जनाइएको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको हो ।
सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खसेको हो । सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् ।
पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको छ । त्यो क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भएको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटोमै रोकिएका छन् । चारकिलोमा यसअघि पनि पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया