मन्त्री हमालको नियुक्तिबारे होहल्ला गर्नु आवश्यक छैन: प्रचण्ड – Nagarikabhiyan : National News

मन्त्री हमालको नियुक्तिबारे होहल्ला गर्नु आवश्यक छैन: प्रचण्ड

काठमाडौँ ।  सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमाल नेपाली कांग्रेसका नेता रहेका कारण मन्त्री भएको दाबी गरेका छन्। भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले हमाल नेपाली कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले अनावश्यक चर्चा गर्नु नपर्ने बताए ।

‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन,’ दाहालले भने, ‘संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’ उनले नेकपा एमालेले अनावश्यक रुपमा संसद अवरुद्ध गरिरहेको आरोप पनि लगाए।

‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद विघटनलाई जायज पुष्टि गर्ने प्रयास गरिँदैछ तर त्यो सम्भव छैन,’ उनले भने, ‘संसद चाहिँदैन भने छोडेर गए हुन्छ, हामी छँदैछौं।’ उनले एमसिसी अहिलेकै अवस्थामा नभई दलीय सहमतिमा परिमार्जनसहित पारित हुने बताए। साथै, कोभिड(१९ विरूद्धको खोप व्यवस्था गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको प्रचण्डले बताए। जनतालाई राहत, विकास निर्माण, शिक्षामा सुधार, थाति रहेका विधेयक अघि बढाउनेलगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए। प्रचण्डले शिक्षा सम्बन्धी उच्च स्तरीय आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने पनि बताए।

कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् ।