नेपाल प्रहरीले मनायो ६६ औँ प्रहरी दिवस – Nagarikabhiyan : National News

नेपाल प्रहरीले मनायो ६६ औँ प्रहरी दिवस

काठमाडौं । नेपाल प्रहरीले ६६ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालयसहित देशभरका प्रहरीले विभिन्न कार्यक्रम गरी दिवश मनाएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित भए ।
प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । प्रधानमन्त्री देउवाले नेपाल प्रहरीलाई शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल प्रहरी शक्तिबाट प्रभावित नभई अनुसन्धानमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

उनले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्त गरे । निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य गर्न समेत मद्दत पुग्ने प्रधानमन्त्री देउवाको भनाई छ ।

प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरू प्रति श्रद्धा सुमन अर्पण गरे ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रुपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था बहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अग्रपंक्तिमा रहेर कर्तव्य निष्ठ रहेको चर्चा गरे ।

६६ औँ प्रहरी दिवस सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमका साथ मनाइएको प्रधान कार्यालयले जनाएको छ ।
यस वर्ष घोषित ३३ जनामध्ये २६ जना अमर प्रहरीका परिवारलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरूमा कदरपत्र प्रदान गरिएको छ ।