जसपाले बोलायो आज केन्द्रीय कार्यकारिणी समितिको बैठक
२० आश्विन २०७८, बुधबार ०९:२९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा सांसद प्रमोद साहका अनुसार दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्दै छ।
बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने साहले बताए। ‘मन्त्रीका आंकाक्षी धेरै छन्, कसरी कसलाई लाने बिषयमा बैठकलमा फाइनल डिसिजन हुन्छ’ उनले भने। मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि जसपा अध्यक्ष उपेन्द यादवले बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताएका थिए।
जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरु यादव, बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो । सर्वदलीय बैठकमा चार मन्त्री जसपाले पाउने समझदारी भएपछि बसेको संसदीय दलको बैठकले छनोटको जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया