संसद अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता गर्ने देउवा सरकारको तयारी !
११ आश्विन २०७८, सोमबार १५:२९
काठमाडौँ । सरकारले संसद अघिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ। अध्यादेशकै कारण सरकार विस्तारमा ढिलाइ भएपछि सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता लिन लागेको हो।
अध्यादेश निष्क्रिय नभइ सरकार विस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टि बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा छ।
सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।
सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया