सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति
१० आश्विन २०७८, आईतवार १३:५३
काठमाडौँ । सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जुटाएको हो। बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले जानकारी दिए।
‘राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति यसअघि नै भएको हो, कहिले फिर्ता गर्ने भन्ने निर्णय भएको थिएन, भोलिसम्म फिर्ता गर्ने सहमति भएको छ,’ यादवले भने । उनका अनुसार मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत भएका छन् । उनले भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने बताए।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान राखेको थियो। अध्यादेश फिर्ता गर्न नहुने माधव नेपाल पक्षको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । गत असार २९ गते शपथ लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
शपथ लिएको झण्डै साढे २ महिनामा परराष्ट्र मन्त्रालयमा मन्त्री नियुक्त गरिएको थियो । मन्त्रिपरिषद् विस्तार गर्न समेत नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया