भारतका चर्चित अधिकारकर्मी कमला भासिनको निधन – Nagarikabhiyan : National News

भारतका चर्चित अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौँ । भारतका चर्चित अधिकारकर्मी कमला भासिनको निधन भएको छ । भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको अधिकारर्मीहरुले बताएका छन् । शनिबार बिहान ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यानसर देखिएको थियो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ उनको चर्चित कविता हो । भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

सामाजिक वैज्ञानिकका रुपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् । सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन(एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् ।