देउवाका मान्छेले वडाध्यक्ष ठटाएपछि रामचन्द्रको रोयो मन, सुरिएर धर्ना दिन को-को पुगे सानेपा ?
७ आश्विन २०७८, बिहीबार १३:१२
काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकाहरूलाई मन्त्रीले हातपात गरेको भन्दै संस्थापनइतर समूह प्रतिकारमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा धर्ना दिने तयारी गरेको छ ।
आज कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता पौडेल, नेताहरू प्रकाशमान सिंह, शेखर कोइरालालगायत नेता–कार्यकर्ताहरू प्रदर्शनमा सहभागी हुनेछन् ।
“पार्टी कार्यालयमा हामीले १ बजे धर्ना कार्यक्रमको आयोजना गरेका छौँ,” अमरेशकुमार सिंहले भने ।
मंगलबार प्रदेश नम्बर–२ का युवा तथा खेलकुद र महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै विरोध जनाइएको हो । उनीहरूबीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो ।
पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ । भिडियोमा दुईजनाबीच भनाभन भएको देखिन्छ । त्यत्तिकैमा धेरैजना कराएको आवाज सुनिन्छ । त्यसपछि गालीगलौज सुरु हुन्छ । गालीगलौजपछि धकेलाधकेल भएको दृष्य भिडियोमा देखिन्छ ।
यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताए ।
वडाध्यक्ष महतोका अनुसार विवाद सर्लाही क्षेत्र नम्बर–४ को क्रियाशील सदस्यताका विषयमा भएको हो । क्षेत्रीय सभापति रामअश्रेय साहले मन्त्री सिंहले जे भने पनि मान्ने भएपछि समस्या आएको हो । उनका अनुसार क्षेत्रभरका वडाहरूले क्रियाशील सदस्यता वितरण गरी निर्णयसहित क्षेत्रमा बुझाएका थिए ।
तर, क्षेत्रीय सभापति साहले मन्त्री मिश्रले भनेकाका मात्र नाम समावेश गरे । परिणामस्वरूप त्यहाँका क्रियाशील सदस्यता छ भनेर ढुक्क भएका धेरै कांग्रेसीहरू क्रियाशील सदस्यता सार्वजनिक भएपछि झस्किन पुगे ।
“करिब पाँच सय क्रियाशील तलमाथि गरिएको छ, क्षेत्रीय सभापति साहसँग कुरा पनि हुन सकेको छैन,” महतोले भने, “जिल्ला सभापति नागेन्द्र राय गल्ती ढाकछोपमा लागेका छन् । हामी केन्द्रमा गुनासो लिएर आउँदा शक्तिको दुरुपयोग गर्दै मन्त्री हस्तक्षेप गर्न आएका छन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया