१८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसक्यो : श्रेष्ठ
६ आश्विन २०७८, बुधबार १७:१८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । उनले डाइलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए । उनले जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनु पर्ने बताए । उनले सरकारले थोरैमा दुईसय देखि तीनसय वटा डाएलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि बताए। सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने बताए। अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए । उनले ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिना भित्र ठूलो परिवर्तन हुने दाबी गरे ।
राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘किड्नी र क्यान्सर जस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ, नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ, यो ठ्याक्कै नहोला, मैले सोध्दा लगभ यतिकै हाराहारीमा छ, त्यसैले अप्रेशन गर्नको लागि ५ वटा अस्पताल छन्, जसमा तीन वटा सरकारी छन्, किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ, यसलाई सकेसम्म कम गर्नुपर्छ, हामीले यसको सुधार ल्याउनका लागि जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउने र जनतालाई सर्वसुलभ दरमा उपचार दिने सरकारको योजना छ, सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुन्छ, त्यसैले हामीले ६ महिना एक वर्ष भित्रमा अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउँछौँ, आवश्यक संरचनाहरु थप्नेछौँ, ६ महिना भित्र ट्रान्सप्लान्ट र डाएलाईसिसमा ठूलो परिवर्तन हुनेछ ।’
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताउनुभयो । उहाँले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताए । अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको बताए । राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरे । उनले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया